काठमाडौँ :- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका दैनिक उपभोग्य वस्तुको बिक्री–वितरण नगर्न व्यवसायीलाई चेतावनी दिएको छ।
विभागले सोमबार सूचना जारी गर्दै अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ताकपडालगायतका वस्तु भौतिक बजारसँगै डिजिटल (अनलाइन) प्लेटफर्ममार्फत पनि गैरकानुनी रूपमा बिक्री–वितरण नगर्न आग्रह गरेको हो।
विभागले उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, भण्डारणकर्ता तथा विक्रेतालाई प्रचलित कानुनले तोकेका दायित्व, मापदण्ड र सर्तको पूर्ण पालना गर्दै व्यापार–व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।
साथै, उपभोक्ताको स्वास्थ्य र अधिकारमा असर पर्ने गरी लेबलविहीन, न्यून गुणस्तरका वा मिसावटयुक्त वस्तुको कारोबार गर्नेविरुद्ध कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ।












