काठमाडौँ :- नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदाको संख्या पुनरावलोकन गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन भएपछि थपिएका बिदाको प्रभाव अध्ययन गरी आवश्यक परे अन्य सार्वजनिक बिदा कटौती गर्ने उद्देश्यले कार्यदल गठन गरेको हो।
निर्णयअनुसार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरू सदस्य रहनेछन्।
कार्यदललाई सार्वजनिक बिदासम्बन्धी अध्ययन तथा समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन तयार गरेर गृह मन्त्रालयमा पेश गर्ने जिम्मेवारी दिइएको छ।












