काठमाडौँ :- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका र सम्पर्कविहीन भएका महिलाहरू अन्ततः सकुशल परिवारको सम्पर्कमा आएका छन्।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू आइतबारदेखि सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा निकुञ्ज प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार सबै सुरक्षा संयन्त्र परिचालन गरी व्यापक खोजी अभियान सञ्चालन गरिएकामा केहीबेरअघि महिलाहरू परिवारको सम्पर्कमा आएको र उनीहरू सबै सुरक्षित रहेको जानकारी प्राप्त भएको हो।
यसअघि आइतबार साँझदेखि हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई सहसेनानी सुमन जिसीको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको थियो। उनीहरूलाई सोमबार बिहान परिवारको जिम्मा लगाइएको छ।
निकुञ्जभित्र अवैध रूपमा च्याउ टिप्न गएका तीन समूहका महिलाहरू सम्पर्कविहीन भएपछि सुरक्षा निकाय र निकुञ्ज प्रशासनले संयुक्त रूपमा खोजी अभियान तीव्र बनाएका थिए। सबै महिलाहरू सकुशल फेला परेसँगै खोजी अभियान सम्पन्न भएको छ।












