काठमाडौँ :- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्काको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए। उद्घाटन सत्रमा उनले विश्वव्यापी शक्ति सन्तुलन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनका अनुभव तथा २१औँ शताब्दीको समाजवादबारे आफ्नो धारणा राखेका थिए।
प्रचण्डले श्रीलङ्का भ्रमणका क्रममा त्यहाँका प्रमुख वामपन्थी राजनीतिक दलका नेताहरूसँग उच्चस्तरीय भेटवार्ता पनि गरेका थिए। उनका स्वकीय सचिवालयका अनुसार भ्रमणमा क्षेत्रीय राजनीतिक सहकार्य र साझा चासोका विषयमा छलफल भएको थियो।












