काठमाडौँ :- जल तथा मौसम विज्ञान विभागले यसअघि अनुमान गरिएजस्तो ठूलो बाढीको जोखिम नरहेको जनाएको छ। विभागका अनुसार अपेक्षाअनुसार व्यापक वर्षा नभएकाले ठूलो बाढीको सम्भावना टरेको हो।
यद्यपि आज र भोलि देशका विभिन्न जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको जोखिम कायम रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागका बाढीविद् सौहार्द जोशीका अनुसार भारी वर्षा सीमित स्थानमा मात्रै भएकाले पूर्वानुमानअनुसार ठूलो बाढीको अवस्था सिर्जना भएन। हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीसहित प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको उनले बताए।
तर झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, काभ्रे, काठमाडौं उपत्यका, धादिङ, चितवन, कास्की, तनहुँ, बागलुङ, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लाका स–साना नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिम रहेका जिल्लामा रातिको सवारी आवागमन नियन्त्रणसहित आवश्यक पूर्वतयारीलाई सशक्त बनाएको जनाएको छ। साथै, सम्भावित विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको छ।












