काठमाडौँ :- पाँचथरको कुम्मायक गाउँपालिका–५ भुल्केस्थित तमोर होटलमा ग्यास चुहावटका कारण आगलागी हुँदा नगदसहित होटलका विभिन्न सामग्री जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शुक्रबार साँझ करिब ५ः३० बजे होटलको भान्सामा मासु पकाउने क्रममा ग्यास चुहावट भई आगलागी भएको हो। आगो स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा साँझ ७ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट होटल सञ्चालक तुम्बेवा गाउँपालिका–३ निवासी २५ वर्षीय बादल भण्डारीको करिब ३२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ।
यस्तै, खर र बाँसले बनेका दुई वटा कटेज, दुई वटा आइफोन, चार वटा इटेल कम्पनीका मोबाइल, दुई वटा ग्यास सिलिन्डर, दुई वटा फ्रिज, सात वटा टेबल, २५ वटा प्लास्टिकका कुर्सी, खाद्यान्न, भाँडावर्तन तथा पेय पदार्थसमेत आगलागीमा नष्ट भएको प्रहरीले जनाएको छ।
घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।












