काठमाडौँ :- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा आठवटा राजमार्ग अवरुद्ध भएका छन्। यद्यपि, पर्सास्थित हुलाकी राजमार्ग भने पुनः सञ्चालनमा आएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पर्साको ठोरी गाउँपालिका–२ अन्तर्गत हुलाकी राजमार्गमा पर्ने ढेडुखोला र अन्य खहरे खोलामा आएको बाढीका कारण अवरुद्ध सडक मंगलबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो।
हाल बिपी राजमार्ग, कान्तिलोकपथ, मेची राजमार्ग, ताङतिङ सडकखण्ड, सालझण्डी–ढोरपाटन सडक, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग तथा रिडी–वामी सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
प्रहरीले पहिरो, लेदो, ढुंगा खस्ने तथा खोलामा पानीको बहाव बढेका कारण सडक अवरुद्ध भएको जनाएको छ। प्रभावित सडकखण्डमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।












