काठमाडौँ :- अविरल वर्षापछि खसेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी क्षेत्रमा मंगलबार बिहान ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार सडक अवरुद्ध भएपछि पोखरा, काठमाडौं तथा पश्चिम नेपालतर्फ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। काठमाडौंबाट बुर्तिबाङ, रोल्पा, रुकुम र डोल्पालगायत गन्तव्यका लागि छुटेका यात्रुवाहक बससमेत बाटोमै अलपत्र परेका छन्।
सडकमा ठूलो परिमाणमा पहिरोसँगै ढुंगा थुप्रिएकाले तत्काल सञ्चालनमा ल्याउन कठिन भएको प्रहरीले जनाएको छ। यद्यपि सडक खुलाउने प्रयास भइरहेको छ।












