काठमाडौँ :- सामाजिक उद्यमशीलताको अवधारणालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै स्थानीय समुदायको आयआर्जन र जीविकोपार्जनमा टेवा पुर्याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
नेपाल सहभागितामूलक कार्य समूह (नेपान)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले सामाजिक उद्यममार्फत स्थानीय उत्पादन तथा सेवाको प्रवर्द्धन गर्दै समुदायलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका हुन्।
विकासविद् डा. कृष्णराज भण्डारीले दिगो आर्थिक स्रोतको अभावका कारण नेपालका करिब आधा गैरसरकारी संस्था (गैसस) बन्द भइसकेको उल्लेख गर्दै, गैससलाई दातामुखी सोचबाट मुक्त गरी आफ्नै आयस्रोत सिर्जना गर्न सामाजिक उद्यमशीलता अपरिहार्य रहेको बताए।
नेपानका अध्यक्ष अश्विनकुमार पुडासैनीले गैससलाई दाताको एजेन्डा, राजनीतिक प्रभाव र बाह्य निर्भरताबाट मुक्त गर्दै सामाजिक उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने नीति आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा सहभागी विकासकर्मीहरूले कानुनी जटिलता, नकारात्मक दृष्टिकोण, दातामुखी प्रवृत्ति तथा कमजोर नीतिगत व्यवस्थाका कारण सामाजिक उद्यमको विकास अपेक्षित रूपमा हुन नसकेको बताए। उनीहरूले नेपालको परिवेशअनुकूल सामाजिक उद्यमको आफ्नै मोडेल विकास गर्न, कानुनी व्यवस्था व्यवहारिक बनाउन तथा सफल अभ्यासलाई राज्यले प्रोत्साहन गर्नुपर्ने सुझाव दिएका छन्।












