काठमाडौँ :- सङ्घीय सरकारको ११ करोड १९ लाख रुपैयाँको लागतमा लमजुङको उदिपुर क्षेत्रमा पहिरो नियन्त्रणका संरचना निर्माण भएपछि डुम्रे–बेँसीसहर सडकमा बर्खायाममा पनि सवारी आवागमन सहज भएको छ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार मस्र्याङ्दी नदीमा माइक्रो पाइल, नदी किनारमा संरक्षण पर्खाल, ४५ मिटर अग्लो र ८० मिटर लामो ग्याबिन जाली, ३०० मिटर सडक कालोपत्र तथा सडकमाथिको पहिरो क्षेत्रमा नेलिङलगायतका संरचना निर्माण गरिएको छ।
स्थानीय बासिन्दा बाबुलाल श्रेष्ठले पहिरो नियन्त्रणपछि उदिपुर क्षेत्रमा यात्रा सुरक्षित र सहज बनेको बताए। उनका अनुसार गत वर्ष बर्खायाममा पटक–पटक सडक अवरुद्ध हुने र माथिबाट ढुंगा खस्ने त्रास रहे पनि अहिले निर्धक्क भएर यात्रा गर्न सकिने अवस्था बनेको छ।
उक्त सडकमा नियमित सवारी सञ्चालन गर्दै आएका चालक नारायण घिमिरेले पनि पहिरो नियन्त्रणपछि उदिपुर क्षेत्रमा निर्भय भएर सवारी चलाउन पाएको बताए। यसअघि पहिरोका कारण सवारीसाधनले प्रायः वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको थियो।
डुम्रे–बेँसीसहर सडक लमजुङ र मनाङलाई जोड्ने प्रमुख राजमार्ग हो। यही सडकले अन्नपूर्ण चक्रीय पदमार्गसँग पनि पहुँच जोड्ने भएकाले यसको नियमित सञ्चालनलाई महत्वपूर्ण मानिएको छ।












