काठमाडौँ :- लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन शनिबार दिउँसो ३ बजेदेखि सञ्चालनमा आएको छ। लाइनबाट सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरेनीस्थित मार्कीचोक (न्यू मस्र्याङ्दी सबस्टेसन) देखि चितवनको भरतपुरस्थित न्यू भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। मार्कीचोक क्षेत्रमा एउटा टावर निर्माणमा अवरोध हुँदा लाइन लामो समयसम्म सञ्चालनमा आउन सकेको थिएन।
गत असार ६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले स्थलगत निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन र आयोजना पक्षबीच समन्वय गरी निर्माण अवरोध हटाउन पहल गरेका थिए। त्यसपछि टावर निर्माण सम्पन्न भएसँगै प्रसारण लाइन सञ्चालनमा आएको हो।
प्राधिकरणका अनुसार लाइन सञ्चालनसँगै यस क्षेत्रमा बारम्बार हुने ट्रिपिङ तथा पटक–पटक विद्युत् जाने समस्या उल्लेखनीय रूपमा घट्नेछ। साथै विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता र आपूर्तिको गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ।
ऊर्जा मन्त्री श्रेष्ठले अब बर्खायाममा मस्र्याङ्दी करिडोरका निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिने बताए। प्रसारण क्षमताको अभावका कारण कम उत्पादन गर्नुपर्ने बाध्यता अब हट्ने उनको भनाइ छ।
उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट उत्पादित स्वच्छ ऊर्जालाई राष्ट्रिय प्रणालीमा प्रभावकारी रूपमा समाहित गर्न सकिने भन्दै यसलाई नेपालको ऊर्जा आत्मनिर्भरता र ऊर्जा सुरक्षालाई मजबुत बनाउने महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन्।
युरोपेली विकास साझेदारको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको यो प्रसारण लाइन सञ्चालनमा आएसँगै मस्र्याङ्दी करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह हुने विश्वास गरिएको छ।












