काठमाडौँ :- इरानका पाँच प्रान्तमा पछिल्लो दुई दिनमा भएको अमेरिकी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्।
इरानी स्वास्थ्य मन्त्रालयका जनसम्पर्क तथा सूचना केन्द्रका प्रमुख हुसेन केर्मानपुरले सामाजिक सञ्जाल एक्समार्फत जुलाई ८ र ९ मा अमेरिकाले पाँच प्रान्तलाई लक्षित गरी आक्रमण गरेको जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार घाइतेमध्ये ४७ जना अझै अस्पतालमा उपचाररत छन् भने बाँकीलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। दक्षिणपश्चिमी सहर अहवाजनजिक भएको आक्रमणमा मात्रै तीन जनाको मृत्यु भएको जनाइएको छ।
गत महिना भएको युद्धविराम सम्झौता भंग भएपछि अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किएको छ। होर्मुज जलमार्ग हुँदै गइरहेका तीन व्यावसायिक जहाजमाथि इरानले आक्रमण गरेको आरोप अमेरिकाले लगाएपछि वासिङ्टनले इरानको दक्षिणी तटीय क्षेत्रमा रहेका सैन्य लक्ष्यमा लगातार हवाई आक्रमण सुरु गरेको थियो।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अन्तर्राष्ट्रिय जलक्षेत्रमा थप आक्रमण रोक्ने उद्देश्यले दुई दिनमा वायुरक्षा प्रणाली, तटीय निगरानी केन्द्र, क्षेप्यास्त्र तथा ड्रोन पूर्वाधार, नौसैनिक क्षमता र इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सका सैन्य अड्डासहित १७० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको छ।
जवाफमा इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य सुविधालाई लक्षित गर्दै ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ।












