काठमाडौँ :- लामखुट्टेको टोकाइबाट सर्ने डेंगी, औलो र कालाजारका बिरामी हिमाली जिल्ला कालीकोटमा पनि भेटिन थालेका छन्।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कालीकोटमा डेंगीका १०, कालाजारका आठ र औलोका एक गरी कुल १९ जना बिरामी फेला परेका छन्।
जिल्लाका नौ स्थानीय तहमध्ये छ पालिकामा यी रोगका बिरामी भेटिएको उनले जानकारी दिए। विगतमा तराई र पहाडी जिल्लामा मात्र बढी देखिने यी रोग पछिल्ला केही वर्षयता हिमाली क्षेत्रमा समेत फैलिन थालेका छन्।
रोग महामारीका रूपमा फैलिन नदिन स्वास्थ्य संस्थासँग समन्वय गरी लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी रोग नियन्त्रण शाखाका प्रमुख हेमराज बमले बताएका छन्।












