काठमाडौँ :- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अखाद्य वस्तु बिक्री गरेको पाइएपछि भक्तपुरको एक रेस्टुरेन्टलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरेको छ।
बुधबार गरिएको बजार अनुगमनका क्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोकन्थलीस्थित ‘जिरे खुर्सानी दरबार’ रेस्टुरेन्टमा अखाद्य वस्तु फेला परेपछि विभागले उक्त जरिबाना गरेको जनाएको छ।
यसैबीच, विभागले काठमाडौंको थापाथलीस्थित इन्डेक्स डिस्ट्रिब्युटर्स प्रालिलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित तीन दिनभित्र बबरमहलस्थित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
त्यस्तै, ताहाचलस्थित भिजन इन्टरनेसनल प्रालिलाई पनि व्यवसाय दर्ता प्रमाणपत्र तथा खरिद–बिक्रीसम्बन्धी बिलसहित तीन दिनभित्र विभागमा उपस्थित हुन विभागले निर्देशन दिएको छ।












