काठमाडौं :- चीनले सोमबार आणविक पनडुब्बीबाट प्रशान्त महासागरतर्फ क्षेप्यास्त्र परीक्षण गरेको छ। यस कदमप्रति जापान, अस्ट्रेलिया र न्युजिल्यान्डले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार जनमुक्ति सेनाको नौसेनाले स्थानीय समयअनुसार दिउँसो १२:०१ बजे आणविक पनडुब्बीबाट अभ्यासका लागि नक्कली वारहेड बोकेको क्षेप्यास्त्र अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा प्रक्षेपण गरेको हो। क्षेप्यास्त्र पूर्वनिर्धारित समुद्री क्षेत्रमा खसेको जनाइए पनि चीनले त्यसको ठ्याक्कै स्थान सार्वजनिक गरेको छैन।
सिन्ह्वाले यो परीक्षण चीनको वार्षिक सैन्य अभ्यासअन्तर्गतको नियमित कार्यक्रम भएको र कुनै विशेष देश वा लक्ष्यविरुद्ध लक्षित नभएको दाबी गरेको छ।
यद्यपि, अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले परीक्षणअघि चीनले अस्ट्रेलियालाई जानकारी गराएको पुष्टि गर्दै यस्तो कदमले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने बताएकी छन्।
फिजीको राजधानी सुवामा आयोजित पत्रकार सम्मेलनमा उनले चीनको तीव्र सैन्य विस्तार पर्याप्त पारदर्शी नरहेको र त्यसको उद्देश्यबारे क्षेत्रीय मुलुकले अपेक्षा गरेको स्पष्टता नदेखिएको टिप्पणी गरिन्। त्यसैले अस्ट्रेलियाले उक्त क्षेप्यास्त्र परीक्षणलाई क्षेत्रीय अस्थिरता निम्त्याउन सक्ने कदमका रूपमा हेरेको उनले बताइन्।












