काठमाडौं :- जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ कल्याण केन्द्रमा सोमबार भएको गोली प्रहारमा ६ जनाको मृत्यु भएको छ। घटनामा केही अन्य व्यक्ति घाइते भएका छन्।
जर्मन प्रहरीका अनुसार आफ्नी तीन महिनाकी छोरीको संरक्षण (कस्टडी) सम्बन्धी विवादका क्रममा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए। ह्याम्बर्ग नजिकै रहेको उक्त केन्द्रमा कार्यरत चार महिला र दुई पुरुष कर्मचारीको गोली लागेर मृत्यु भएको हो।
अधिकारीहरूका अनुसार गोली चल्दा तीन महिनाकी शिशु र उनकी आमा कार्यालयभित्रै रहे पनि उनीहरू सकुशल छन्। घटनालगत्तै प्रहरीले मुख्य संदिग्धसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले हाल सर्वसाधारणका लागि कुनै सुरक्षा जोखिम नरहेको जनाएको छ।
स्थानीय समयअनुसार सोमबार दिउँसो डङ्करस्ट्रासस्थित युवा कल्याण केन्द्रमा गोली चलेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी प्रमुख क्याथरिन सुओलका अनुसार पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। मृतक सबै वयस्क रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका ४५ वर्षीय मुख्य संदिग्ध जर्मनीमै जन्मिएका टर्किस मूलका नागरिक हुन्, जो हाल ह्यानोभरमा बस्दै आएका थिए। उनी आफ्नी छोरीको कस्टडीबारे छलफलका लागि केन्द्रमा आयोजित बैठकमा सहभागी हुन पुगेका थिए, जहाँ मारिएका अधिकांश कर्मचारी उपस्थित थिए।
प्रहरीले संदिग्ध यसअघि पनि धम्की दिने घटनामा संलग्न रहेको तर यति ठूलो हिंसात्मक घटना गराउने अनुमान नगरिएको जनाएको छ। अनुसन्धानका क्रममा उनीसँग हतियार प्रयोग गर्ने आधिकारिक अनुमति (लाइसेन्स) समेत नभएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










