काठमाडौं :- जिल्ला प्रशासन कार्यालय मकवानपुरले भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारीद्वारा जारी सूचनाअनुसार असार १६ र १७ गते बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म उक्त सडकखण्ड हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन अनुरोध गरिएको हो।
गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार ती दिन देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक अवरोध, गेग्रान बहाव, बाढी र नदीमा जलसतह बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
प्रशासनले ताल, नदी, खोला तथा जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने, नदी तर्ने लगायतका जोखिमपूर्ण गतिविधि नगर्न तथा पहिरो, बाढी र डुबानको जोखिम भएका क्षेत्र, नदी किनार र भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरेको छ।
यस्तै, मौसम र सडकको अवस्थाबारे आधिकारिक सूचना तथा सुरक्षा निकायका निर्देशन पालना गरी सुरक्षित अवस्था भएपछि मात्रै यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। कुनै विपद् वा आपत्कालीन अवस्था आएमा नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयको आपतकालीन कार्य सञ्चालन केन्द्रको निःशुल्क फोन नम्बर ११४९ मा जानकारी गराउन पनि अनुरोध गरिएको छ।
प्रशासनले वर्षायाममा जोखिमको अवस्थाअनुसार जिल्लाभित्रका कुनै पनि सडकमा सुरक्षाकर्मीमार्फत निश्चित समयका लागि आवागमन रोक्न सकिने भएकाले सबैलाई सहयोग र समन्वय गर्न आग्रह गरेको छ।










