काठमाडौं :- भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै स्वीकृत बिदा सकिएपछि पनि आफ्नो कार्यस्थलमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका ती कर्मचारीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। उनीहरूले अस्थायी आवासीय अनुमति (TR), स्थायी आवासीय अनुमति (PR) तथा डाइभर्सिटी भिसा (DV) लिएको पाइएको सूचनामा उल्लेख छ।
प्रचलित कानुनअनुसार निजामती कर्मचारीले सेवामा रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन पाउँदैनन्। साथै, स्वीकृत बिदा समाप्त भएको ३० दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था विपरीत उनीहरू अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ।
निजामती सेवा ऐन, २०४९ अनुसार उनीहरूलाई भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कारबाही हुन सक्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार, प्रमाण र सफाइ पेश गर्न मन्त्रालयले निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहिता सुदृढ बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन्। उनले कार्यालयमा अनुपस्थित कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनबमोजिम आवश्यक निर्णय गरिने जानकारी दिइन्।
मन्त्रालयले विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे पनि अध्ययन र खोजी कार्यलाई तीव्र बनाइएको जनाएको छ।










