काठमाडौं :- अभिनेता अनमोल केसी फिफा विश्वकप फुटबल हेर्न अमेरिका पुगेका छन्।
नेपाली समयअनुसार आइतबार बिहान भएको अर्जेन्टिना र जोर्डनबीचको खेल हेर्न उनी टेक्सासको ड्यालसस्थित रंगशालामा उपस्थित भएका थिए। खेल अवलोकनका क्रममा खिचिएका तस्बिर र भिडियो उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। एक भिडियोमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी मैदानमा खेलिरहेको दृश्य पनि देख्न सकिन्छ।
बाल्यकालदेखि नै मेस्सीका प्रशंसक रहेका अनमोलले आफ्नो मनपर्ने खेलाडी र टोली अर्जेन्टिनाको समर्थनमा रंगशालामा हुटिङसमेत गरेका थिए।
अमेरिका प्रस्थानअघि उनले अवसर मिले विश्वकपका क्वार्टरफाइनलका अन्य खेलहरू पनि प्रत्यक्ष रूपमा हेर्ने योजना रहेको बताएका थिए।










