काठमाडौं :- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गराएका छन्।
चितवनमा जारी महाधिवेशनमा पोखरेलले खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन्। उनको उम्मेदवारीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल प्रस्तावक रहेका छन् भने पार्टीका २१ जना प्रतिनिधिले समर्थन जनाएका छन्।
उम्मेदवारी दर्तापछि मन्त्री पोखरेलले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन आफूले योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले केन्द्रीय सदस्यका रूपमा संगठन सुदृढीकरण र पार्टीको लक्ष्य हासिल गर्न इमानदारीपूर्वक काम गर्ने बताएका छन्।
हाल प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा शिक्षा तथा खेलकुद मन्त्री रहेका पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट रास्वपाका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।










