काठमाडौं :- हुम्लाको सिमकोट गाउँपालिका–७ स्थित धारापोरी–ताङलाथुङ–हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा चालक सुर्खेतको बराहताल गाउँपालिका–७ का २८ वर्षीय रमेश सिजापति घाइते भएका छन्। साथै सिमकोट गाउँपालिका–७ ताङलाथुङका २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगसरा शाही र ४० वर्षीय गोकुल शाही पनि घाइते भएका छन्।
घाइते चारै जनाको तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिमकोट पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।










