अशोक कुमार राई नेतृत्वको समूहले नयाँ राजनीतिक दल ‘समाजवादी पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
सोमबार आयोगमा दर्ता गराइएको निवेदनअनुसार पार्टीको अध्यक्षमा अशोक राई रहेका छन् भने उपाध्यक्षहरूमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दानबहादुर विश्वकर्मा छन्। त्यसैगरी, शरणकुमार राई उपमहासचिव तथा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भीमबहादुर तामाङ सचिव पदमा प्रस्तावित छन्।
राईले आठ जना पदाधिकारीसहित २८ सदस्यीय केन्द्रीय समितिको नामावली संलग्न गरेर दल दर्ताका लागि निवेदन पेश गरेका हुन्।
यस अघि राई नेतृत्वको समूहले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालबाट अलग भई नयाँ जनता समाजवादी पार्टी गठन गरेको थियो। उक्त पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सर्वोच्च अदालतले अशोक राई नेतृत्वको दललाई कानुनी मान्यता नदिने फैसला गरेपछि उनको समूह दलविहीन बनेको थियो। अब सोही समूहले नयाँ नाममा पार्टी दर्ता प्रक्रिया अघि बढाएको हो ।










