काठमाडौं :- ताप्लेजुङमा गएराति परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले फक्ताङलुङ गाउँपालिकामा दुई घर तथा अलैँची बगानमा क्षति पुर्याएको छ।
फक्ताङलुङ गाउँपालिका–१ का दुर्गा कटुवाल र गणेश कटुवालको घर पहिरोको जोखिममा परेर क्षतिग्रस्त बनेको हो। वडाध्यक्ष यज्ञप्रसाद लिम्बूका अनुसार दुर्गा कटुवालको घरमा नरेन्द्र लिम्बू बसोबास गर्दै आएका थिए।
पहिरोका कारण नरेन्द्र लिम्बूले निर्माण गरेको गोठमा समेत क्षति पुगेको छ भने बाख्रासहित केही पशुचौपाया बगेका छन्। प्रभावित दुवै घर बसोबासका लागि असुरक्षित बनेपछि परिवारहरू छिमेकीको घरमा सर्न तयारी गरिरहेका छन्।
यस्तै, सावाँ खोलामा आएको बाढीले स्थानीय किसानका अलैँची बगानमा समेत क्षति पुर्याएको छ। अविरल वर्षापछि खोलामा आएको बाढीले खेतीयोग्य जमिन र बालीमा असर पुर्याएको स्थानीयले बताएका छन्।
यसैबीच, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा सञ्चालित केही जलविद्युत् आयोजनामा पनि बाढी तथा पहिरोका कारण क्षति पुगेको जनाइएको छ। सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरिरहेको छ।










