काठमाडौं :- दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलद्वारा घोषणा गरिएको विवादास्पद मार्सल ल प्रकरणमा पूर्वकानूनमन्त्री पार्क सुङ–जेलाई २५ वर्षको जेल सजाय सुनाइएको छ।
सियोल केन्द्रीय जिल्ला अदालतले सोमबार सुनाएको फैसलामा पार्कलाई सन् २०२४ मा लागू गरिएको मार्सल लसँग सम्बन्धित विद्रोही गतिविधिमा संलग्न रहेको ठहर गरेको राष्ट्रिय समाचार संस्था योन्हापले जनाएको छ।
पूर्वराष्ट्रपति युन सुक योलले डिसेम्बर २०२४ मा घोषणा गरेको मार्सल ल करिब छ घण्टामात्र लागू भएको थियो। राष्ट्रिय सभाका सांसदहरूले आपत्कालीन बैठकमार्फत उक्त निर्णय खारेज गरेपछि मार्सल ल अन्त्य भएको थियो। त्यस घटनाले दक्षिण कोरियामा गम्भीर राजनीतिक संकट निम्त्याएको थियो।
अभियोजन पक्षका अनुसार मार्सल ल लागू भएपछि पार्कले न्याय मन्त्रालयका अधिकारीहरूको बैठक बोलाएका थिए। सो क्रममा सरकारविरोधी व्यक्तिहरूलाई पक्राउ गर्नुपर्ने अवस्था आए कारागारको क्षमता मूल्याङ्कन गर्न निर्देशन दिइएको थियो।
अदालतले कानूनमन्त्रीको हैसियतमा पार्कले मार्सल ल कमान्डसँग सहकार्य गर्न निर्देशन दिएको र आदेश कार्यान्वयनमा सक्रिय भूमिका खेलेको निष्कर्ष निकालेको छ।
अभियोजन पक्षले पार्कविरुद्ध २० वर्ष जेल सजाय माग गरेको थियो। उनले आफ्नो अधिकारको दुरुपयोग गर्दै कानूनी प्रणालीलाई विद्रोहको माध्यम बनाएको र कानूनी शासनमाथि चुनौती दिएको अभियोजनको दाबी थियो।
यसै प्रकरणमा पूर्वराष्ट्रपति युन सुक योलमाथि विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दा चलिरहेको छ। उनी हाल हिरासतमा रहेर आजीवन कारावासको सजायविरुद्ध अपिल गरिरहेका छन्।
मार्सल ल प्रकरणसँग सम्बन्धित अन्य उच्च अधिकारीहरू पनि विभिन्न सजाय भोगिरहेका छन्। पूर्वप्रधानमन्त्री हान डक–सुलाई १५ वर्ष, पूर्वगृहमन्त्री ली साङ–मिनलाई नौ वर्ष तथा पूर्वरक्षामन्त्रीलाई तीन वर्षको जेल सजाय सुनाइसकिएको छ।
पछिल्ला फैसलाहरूले मार्सल ल प्रकरणमा संलग्न उच्च अधिकारीहरूमाथि दक्षिण कोरियामा कानुनी कारबाही थप कडा बन्दै गएको संकेत गरेका छन्।










