काठमाडौं :- राष्ट्रिय आर्थिक गणना २०८२ अन्तिम चरणमा पुगेको छ। असार ३ गतेसम्म देशभर १२ लाख ९८ हजार प्रतिष्ठान गणनामा सहभागी भएका छन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने गणना अभियान अहिले उत्साहजनक रूपमा अघि बढिरहेको छ। उनले अझै केही दिन बाँकी रहेकाले छुटेका प्रतिष्ठानलाई पनि सहभागी हुन आग्रह गरेका छन्।
प्रवक्ता लामिछानेले भने, “राष्ट्रिय आर्थिक गणना अहिलेसम्म उल्लासपूर्ण रूपमा सञ्चालन भइरहेको छ। अझै तीन दिन बाँकी रहेकाले सबै प्रतिष्ठानलाई सहभागी हुन अनुरोध गरिन्छ।”
कार्यालयले तीन हजार ९०६ गणकमार्फत आवश्यक तथ्याङ्क संकलन गरिरहेको छ। ‘कोही पनि प्रतिष्ठान वा व्यवसाय गणनाबाट छुट्न नपरोस्’ भन्ने उद्देश्यसहित अभियानलाई सफल बनाउन सबै पक्षलाई सहकार्य गर्न आग्रह गरिएको छ।










