काठमाडौँ :- प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको उत्पादन म्याग्दी जिल्लामा यस वर्ष घटेको छ । सुन्तलाखेतीको क्षेत्रफल र बजार मूल्य बढे पनि उत्पादकत्वमा कमी आएपछि कुल उत्पादन घटेको हो ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन ५.५६ प्रतिशतले घटेको छ । कार्यालय प्रमुख सञ्जीव बास्तोलाका अनुसार यस वर्ष रोग र किराको संक्रमण नदेखिए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको हो ।
“मौसम अनुकूल नै रह्यो, रोगकीराको समस्या देखिएन,” उनले भने, “तर सुन्तलामा एक वर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने प्राकृतिक विशेषताका कारण यस वर्ष उत्पादनमा कमी आएको हो ।”
गत वर्ष ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११.२५ मेट्रिक टनका दरले चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष भने ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १०.५ मेट्रिक टनका दरले चार हजार ५१५ मेट्रिक टन उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।
किसानका बगैँचाको नमुना अध्ययनका आधारमा तथ्यांक संकलन गरिएको र सबै सुन्तला बिक्री भइसकेपछि वास्तविक तथ्यांक सार्वजनिक गरिने कार्यालय प्रमुख बास्तोलाले बताए ।
यस वर्ष सुन्तला प्रतिकेजी ७० देखि ७५ रुपैयाँसम्ममा बिक्री भइरहेको छ, जुन गत वर्षको तुलनामा प्रतिकिलो करिब पाँच रुपैयाँ बढी हो । औसत बिक्री मूल्यका आधारमा यस वर्ष म्याग्दीमा उत्पादन हुने सुन्तलाबाट करिब ३१ करोड ६० लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
कृषि विकास कार्यालयका अनुसार जिल्लामा कुल ८३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङलगायत क्षेत्रमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन् ।
जिल्ला सदरमुकाम बेनीसँगै काठमाडौँ, पोखरा, मुग्लिनलगायत बजारमा म्याग्दीको सुन्तला बिक्री हुँदै आएको छ । यातायात सुविधा सहज भएकाले व्यापारीहरू गाडी लिएरै बगैँचामा पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, सिँचाइ तथा बजारीकरणमा निरन्तर सहयोग गर्दै आएका छन् ।



