काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल वाम एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।
शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्नका लागि डडेलधुरा पुगेका प्रचण्डले यो कुरा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भनेको बताए । उनले अहिले तत्काल र २०८४ को चुनावसम्म पनि वामपन्थी एकताको सम्भावना नरहेको बताए ।
उनले भने, ‘हामीले पहिलै वामपन्थी एकता होस् भनेर चाहना राखेकै हो, प्रस्ताव गरेको पनि हो, एकता भएको पनि हो तर त्यो तोडियो,’ ‘फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको हो तर नराम्रोसँग धोका खाइयो, पार्टीले मात्र होइन, नेपाली जनतालाई पनि धोका भयो, त्यसकारण एनफ इज एनफ ।’
त्यस्तै उनले डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले डडेलधुरा आइपुगेको जानकारी फोनमार्फत् देउवालाई दिएको बताए ।
‘म यहाँ बस्दै गर्दा, यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ। देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो, डडेलधरामा स्वागत भन्नुभएको छ ।’
उनले डडेलधुरामा भव्य स्वागत भएको अनुभूति गरेको र राजनीतिक दलका नेताहरूसँग भेटघाट र कुराकानी भएको बताए ।
प्रचण्डले तराई मधेसमा सञ्चालित हुलाकी मार्ग केन्द्रित जागरण अभियान असाधारण रूपले सफल भएको निष्कर्ष पार्टीले निकालेको सुनाए । उनले अहिले सरकार ढलाउनेतिर माओवादीले ध्यान नदिएको बताए । ‘हाम्रो दलको हिसाबले भन्दा अहिले सरकार बनाउने र ढलाउनेतिर हाम्रो ध्यान छैन,’ उनले भने, ‘यद्यपि हामीलाई चिन्ता छ- सरकार गलत बाटोतिर हिंडिरहेको छ ।’




