काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले आफूहरूलाई औपचारिक रूपमा विद्रोहमा जाऊ भन्दिन आग्रह गरेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै लिङ्देनले सरकारले संविधानमा भएको प्रावधान विपरीत आस्थाका आधारमा अपमानपूर्वक प्रहरी खोरमा राख्ने र बलपूर्वक पक्राउ गरिरहेको बताए ।
उनले भने, ‘सरकारले नेपालको संविधानको धारा १७, २७०, २७४ को निरन्तर रूपमा उल्लङ्घन गरिरहेको छ । दुई महिनादेखि रवीन्द्र मिश्र लगायतका आस्थाका बन्दीहरूलाई राजसंस्था मान्छु, हिन्दुराष्ट्र मान्छु, संघीयता मान्दिन भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ । आज पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष सुजित केसीलाई साइबर ब्युरोले पक्राउ गरेको समाचार आएको छ,’ ।
उनले भने, ‘आस्थाका आधारमा एक पछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई सभामुखमार्फत औपचारिक रूपमै सरकारले भन्दियोस् राजा मान्छु भन्ने, हिन्दुराष्ट्र चाहिन्छ भन्ने र सङ्घीयता चाहिँदैन भन्नेहरूलाई विद्रोहमा जाऊ जङ्गल पस् ।’




