काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते राजावादीहरूको एउटा बेलुन फुटिसकेको भन्दै जेठ १५ गते अर्को बेलुनमा हावा भर्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् ।
आज किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले ‘खबरदार’ भन्दै राजावादीहरूलाई आन्दोलनमा नउत्रन चेतावनी दिएका हुन् ।
उनले भने, ‘सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ,’ ‘अहिले फेरि अर्को बेलुनमा हावा भर्ने रे जेठ १५ गतेदेखि । खबरदार, त्यो हुनेवाला छैन ।’
उनले नेपालका उत्पीडित, वर्ग, जाती, क्षेत्र समुदाय, जो पहिचान र अधिकारको चेतनाद्वारा जागेको र कसैले पनि जागेको शक्तिलाई रोक्न नसक्ने भनाइ राखे ।
उनले भने, ‘नेपालका उत्पीडित, वर्ग, जाती, क्षेत्र समुदाय, जो पहिचान र अधिकारको चेतनाद्वारा जागेका छन्, जागेका जनतालाई कुनै शक्तिले पनि रोक्न सक्ने छैन । नेपाली जनता विजयी हुनेछन् । त्यो दुस्साहस नगर्न चेतावनी दिन चाहन्छु, कथित राजावादीहरूलाई,’ ।
राजसंस्था पुनस्र्थापना र हिन्दुराज्यसहितका माग राख्दै संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौँमा आन्दोलन गर्ने कार्यक्रम तय गरेको छ ।










