काठमाडौं :- तराई–मधेसमा आँप उत्पादनको मध्य मौसम चलिरहेका बेला महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान रामभगत महतोको आँगनमा रहेको एउटै आँपको बोटमा मालदह र दशहरी गरी दुई फरक जातका आँप फलेका छन्।
दुई वर्षअघि मालदह जातको बिरुवा भनेर रोपिएको उक्त बोटमा पहिलोपटक फल लागेको हो। बोटका दुई मुख्य हाँगामा फरक–फरक जातका आँप देखिएपछि किसान महतो उत्साहित बनेका छन्। उनका अनुसार एक हाँगामा मालदहका ठूला दाना रहेका छन् भने अर्को हाँगामा दशहरी जातका तुलनात्मक रूपमा साना फल फलेका छन्।
बागवानी विज्ञ तथा अवकाशप्राप्त सरकारी कर्मचारी ताराबहादुर भुजेलका अनुसार कलमी बिरुवामा फेदतिर दशहरी र माथिल्लो भागमा मालदहको भाग रहँदा यस्तो अवस्था देखिन सक्छ। उनले एउटै बोटमा दुई फरक जातका आँप फल्नु दुर्लभ र अपवादस्वरूप हुने घटना भएको बताए।










