काठमाडौं :- चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले परीक्षा प्रणालीलाई थप छिटो र प्रभावकारी बनाउन नयाँ व्यवस्था सुरु गरेको छ।
विश्वविद्यालयका आठ आङ्गिक र आठ सम्बन्धन प्राप्त कलेजमा ठूलो संख्यामा विद्यार्थी अध्ययनरत छन्। विशेष गरी कृषि सङ्कायमा धेरै विद्यार्थी भएकाले विगतमा एउटै सङ्कायको नतिजा आउन एक वर्षसम्म लाग्ने गरेको थियो। तर अब दुई महिनाभित्र नतिजा प्रकाशित गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ।
परीक्षा नियन्त्रक प्रा. डा. मनोज शाहका अनुसार एकै समयमा परीक्षा सम्पन्न भएका परीक्षार्थीको नतिजा एकैपटक प्रकाशित गर्ने व्यवस्था मिलाइएको छ।
रजिष्ट्रार प्रा. डा. सुविर सिंहले थोरै विद्यार्थी भएका स्नातकोत्तर र विद्यावारिधि तहको नतिजा एक महिनाभित्र र बढी विद्यार्थी भएका सङ्कायको नतिजा अधिकतम दुई महिनाभित्र प्रकाशित गर्ने प्रणाली सुरु गरिएको जानकारी दिए। उनका अनुसार कतिपय स्नातकोत्तर र विद्यावारिधि तहको नतिजा त परीक्षा सकिएको एक साताभित्रै दिन थालिएको छ।
गत वैशाख ३० गते उपकुलपतिमा नियुक्त भएका प्रा. डा. होमबहादुर बस्नेतका अनुसार अब नतिजा प्रकाशनलाई एक महिनाभित्र सम्पन्न गर्ने दिशामा विश्वविद्यालय अघि बढिरहेको छ।










