चितवन :- पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–मलेखु सडकखण्डमा अलकत्राको अभावका कारण रोकिएको कालोपत्रे कार्य पुनः सुरु हुने भएको छ। यसअघि उक्त खण्डमा १३ किलोमिटर सडक कालोपत्र भइसकेको छ।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्म कालोपत्रेको तयारी थालिएको छ। उनका अनुसार ३० टन अलकत्रा आइपुगेको छ र आगामी असार ५ गतेदेखि कालोपत्रे कार्य सुरु गरिनेछ।
सुरुआती चरणमा ७०० मिटर सडक कालोपत्र गरिनेछ भने असार महिनाभित्र थप तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको छ।
यस सडकखण्डमा रहेका छवटा पुलमध्ये चारवटाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वारवाङ, मौवा, खटौटी र गोमती खोलामा निर्माणाधीन पुलका सडकसँग जोड्ने बाटो तथा कालोपत्रेलगायत केही काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ।
हालसम्म सडक निर्माणको करिब ४३ प्रतिशत काम सम्पन्न भएको छ। कुल ३८.८६ किलोमिटर लम्बाइको यस खण्डको स्तरोन्नतिको ठेक्का शर्मा–जेडआइसिजी जेभीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा लिएको हो।
विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडकखण्ड काठमाडौँ भित्रिने तथा बाहिरिने प्रमुख मार्गका रूपमा परिचित छ। गत डिसेम्बर २८ मा निर्माण अवधि सकिएपछि आयोजनाको म्याद १८३ दिन थप गरिएको छ।










