काठमाडौँ :- संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले सुडानमा जारी युद्धका क्रममा ड्रोनको प्रयोग तीव्र रूपमा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार सन् २०२६ को पहिलो पाँच महिनामै ड्रोन आक्रमणका कारण एक हजारभन्दा बढी नागरिकको ज्यान गएको छ।
जेनेभास्थित संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै टर्कले जनवरीदेखि मे २०२६ सम्म ड्रोन आक्रमणबाट मारिएका एक हजारभन्दा बढी नागरिकको विवरण अभिलेखीकरण गरिएको जानकारी दिए। उनले सुडानको द्वन्द्व झन् जटिल, व्यापक र घातक बन्दै गएको बताए।
सुडानमा नियमित सेना (एसएएफ) र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच अप्रिल २०२३ देखि जारी युद्धमा ड्रोनको प्रयोग प्रमुख सैन्य रणनीतिको रूपमा विकसित हुँदै गएको उनले उल्लेख गरे।
टर्कले देशभर बलात्कार तथा यौन हिंसाका घटना बढ्दै गएको भन्दै नागरिकमाथि भइरहेका मानवअधिकार उल्लङ्घनप्रति गहिरो चिन्ता व्यक्त गरे।
सुडानको द्वन्द्वका कारण हालसम्म दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने एक करोड १० लाखभन्दा बढी नागरिक विस्थापित भएका छन्। संयुक्त राष्ट्रसङ्घले यस अवस्थालाई विश्वकै सबैभन्दा ठूलो विस्थापन र भोकमरी सङ्कटमध्ये एकका रूपमा चित्रण गरेको छ।





