काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री संसद्मा उपस्थित नभएकै कारण आफूलाई कुनै दबाब नपरेको स्पष्ट पारेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू दबाब र प्रभावमा बस्ने व्यक्ति नभएको बताए।
सञ्चारकर्मीले प्रधानमन्त्री संसद्मा नआएको विषयमा दबाबमा परेको हो कि भनेर सोध्दा उनले “छैन, छैन। म त्यस्तो दबाबमा बस्ने मान्छे होइन,” भन्दै यस्तो अवस्थाले आफूलाई प्रभावित नगर्ने प्रतिक्रिया दिए।
लामिछानेले सरकारको कामकारबाहीप्रति भने चासो रहने उल्लेख गर्दै कामको परिणाम नदेखिए मात्र दबाब महसुस हुने बताए। उनले मिडियाको स्पेस सत्ता पक्षभन्दा प्रतिपक्षलाई बढी दिनुपर्ने धारणा पनि राखे।
उनले प्रधानमन्त्री संसद्मा आउने र जवाफ दिने विश्वास व्यक्त गर्दै समयक्रममा प्रक्रिया पूरा हुने बताए।
सभापति लामिछानेले पार्टी महाधिवेशनको तयारी भइरहेको जानकारी दिँदै विधानअनुसार समयमै संगठनलाई व्यवस्थित रूपमा अघि बढाइने बताए।




