काठमाडौँ :- कास्कीको पोखरास्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–११ काहुँखोलाका २७ वर्षीय रिवाज गुरुङको मृत्यु भएको हो । आज बिहान करिब २ बजे फेवातालमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए ।
युवक हराएको सूचना प्राप्त भएपछि प्रहरी तथा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा बिहान ३ः३५ बजे गुरुङलाई अचेत अवस्थामा फेवातालबाट उद्धार गरेको थियो ।
उद्धारपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । चिकित्सकले जाँचका क्रममा उनलाई मृत घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ ।




