काठमाडौँ :- करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगञ्ज–पोखरा सिधा हवाई उडान अस्थायी रूपमा स्थगित गरिएको छ । भारतीय धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धनको मूल्य बढ्नुका कारण उडान एक महिनाका लागि रोकिएको बुद्ध एयर नेपालगञ्ज स्टेशन प्रमुख विनितविक्रम शाहले जानकारी दिएका छन् ।
मलमासका कारण भारतबाट आउने पर्यटक कम भएको र सञ्चालन खर्च बढेकाले उडान रोक्नुपरेको उनले बताए । विसं २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन सञ्चालन हुँदै आएको उक्त उडान मङ्गलबारदेखि बन्द भएको हो ।
उडान स्थगित भएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी तथा सर्वसाधारण निराश बनेका छन् । अब यात्रुले फेरि करिब १४ घण्टाको लामो सडक यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
नाट्टा नेपालगञ्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले सरकारले आवश्यक पहल गर्न नसक्दा निजी क्षेत्रको प्रयासमा सुरु भएको सेवा बन्द हुने अवस्थामा पुगेको बताए । ३५ मिनेटमै पोखरा पुग्न सकिने सुविधा बन्द भएपछि यात्रु फेरि सकसपूर्ण सडक यात्रामा निर्भर हुन बाध्य भएका छन् ।
बुद्ध एयरले १८ सिट क्षमताको बीचक्राफ्ट १९०० डी सिरिज जहाजमार्फत सेवा दिँदै आएको थियो । उक्त उडानले पोखरा, बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र राराजस्ता पर्यटकीय गन्तव्यसम्म पुग्न सहज बनाएको थियो भने भारतका विभिन्न सहरबाट आउने पर्यटकलाई पनि सुविधा पुगेको थियो ।
इन्धन मूल्यवृद्धिपछि भाडादर बढ्दा यात्रुको चाप घटेकाले उडान स्थगित गरिएको बुद्ध एयर नेपालगञ्जले जनाएको छ ।




