काठमाडौँ :- बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रण गर्न पक्की पर्खाल निर्माण सम्पन्न भएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडिको दरवाङ बसपार्क क्षेत्र नजिक म्याग्दी नदी किनारमा बाढी तथा कटान रोकथामका लागि पर्खाल निर्माण गरिएको हो ।
१६५ मिटर लामो कम्पोजिट प्रविधिको उक्त पर्खाल निर्माणका लागि २०८२ वैशाखमा रुपल–सुप्रिम कन्स्ट्रक्सनसँग ४ करोड २१ लाख ५९ हजार ६९९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्धारित म्यादभन्दा करिब एक महिना अगावै निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
इन्जिनियर नरजङ गुरुङका अनुसार पर्खालमा चार मिटर चौडाइ र तीन मिटर उचाइ भएको कङ्क्रिट संरचना तथा माथिल्लो भागमा ग्याबिन पर्खाल निर्माण गरिएको छ ।
बेनी बजार संरक्षण कार्यक्रमअन्तर्गत संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्ला वर्षहरूमा म्याग्दी र कालीगण्डकी नदी कटान नियन्त्रणका लागि विभिन्न स्थानमा करिब दुई किलोमिटर पक्की पर्खाल निर्माण गरिसकेको छ ।




