मुस्ताङ :- मुस्ताङका तीन गाउँपालिकामा पछिल्लो चार वर्षमा वन्यजन्तुको आक्रमणबाट २३९ वटा पशुधनको क्षति भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको तथ्यांकअनुसार बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका ६८ परिवारका पशुधन वन्यजन्तुको आक्रमणमा परेका हुन्।
हिउँ चितुवा, चितुवा र ब्वाँसोको आक्रमणका कारण याकचौँरी, भेँडाच्याङ्ग्रा लगायतका पशुधनमा ठूलो क्षति पुगेको एक्यापले जनाएको छ। पछिल्लो चार आर्थिक वर्षमा १२ याक, सात चौँरी, ११७ च्याङ्ग्रा, ३८ भेँडाबाख्रा, दुई खच्चड र आठ घोडासहित अन्य पशुधन मारिएका छन्।
एक्याप प्रमुख राजेश गुप्ताका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३१, २०८०/८१ मा ५६, २०८१/८२ मा ८६ तथा चालु आर्थिक वर्षको वैशाखसम्म ६६ पशुधन वन्यजन्तुको आक्रमणमा परेका छन्।
वन्यजन्तुबाट भएको क्षतिको राहतस्वरूप एक्याप जोमसोमले चार वर्षमा किसानलाई २५ लाख २१ हजार रुपैयाँ वितरण गरिसकेको जनाएको छ। चालु आर्थिक वर्षको वैशाखसम्म मात्रै पाँच लाख २९ हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको राहत निर्देशिका अनुसार याकचौँरी, घोडा र खच्चडको क्षतिमा अधिकतम ६० हजार तथा भेँडाच्याङ्ग्राको क्षतिमा अधिकतम १० हजार रुपैयाँ राहत दिने व्यवस्था छ।
जलवायु परिवर्तनका कारण चरनक्षेत्रमा पानी र घाँसको अभाव हुनु तथा वन्यजन्तु आहारको खोजीमा बस्ती नजिक आउन थालेपछि मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको एक्यापले जनाएको छ। साथै कमजोर गोठ तथा खोरका कारण पनि पशुधन असुरक्षित बन्दै गएको बताइएको छ।




