काठमाडौँ :- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अघि बढाएको छ ।
सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी अध्यादेश जारी भएपछि आयोगका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि मन्त्रालयले नयाँ पदाधिकारी छनोट प्रक्रिया अघि बढाएको हो ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आयोगका पदाधिकारी छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन् ।
मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जाविज्ञ सतीश नारायण जोशी सदस्य रहेका छन् ।
समितिले अब आयोगको अध्यक्षसहित चार सदस्यका लागि आवेदन आह्वान गर्नेछ । यसका लागि १५ दिने सार्वजनिक सूचना जारी गरिने मन्त्रालयले जनाएको छ ।




