काभ्रे :- विपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेबीच रोकिएका यात्रुको सोमबार राति उद्धार गरिएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पाँच माइक्रोबसमा रहेका ८९ यात्रुलाई सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएको हो। सोमबार परेको वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए।
काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार सुरक्षा निकायको सक्रियताका कारण रातकै समयमा यात्रुको सुरक्षित उद्धार सम्भव भएको हो। उद्धार कार्यमा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू समेत खटिएका थिए।
बाढीले रोशी क्षेत्रमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सोमबार साँझ ५ बजेदेखि उक्त सडकखण्डमा आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो। राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ।
यसबीच जोखिमको बेवास्ता गर्दै सवारी चलाएको आरोपमा केही माइक्रोबस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गर्दै अर्को सूचना नभएसम्म उक्त खण्ड प्रयोग नगर्न अपिल गरेको छ। बाढीका कारण यस क्षेत्रको अस्थायी डाइभर्सन बारम्बार बग्दा विपी राजमार्ग अवरुद्ध हुँदै आएको छ। हाल सो क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।




