मोरङ :- नेपाल पत्रकार महासङ्घ मोरङ ले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मोरङका तीन अग्रज पत्रकारलाई सम्मान गरेको छ। कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङ ले पत्रकारहरू केदार चौहान, केदार रिजाल र ज्योति शर्मालाई सम्मानपत्र प्रदान गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खापुङले समाज रूपान्तरण र विकासमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सत्यतथ्यका आधारमा जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे। उनले लोकतन्त्र, मानव अधिकार र राष्ट्रिय एकता सुदृढ बनाउन सञ्चारकर्मीको योगदान आवश्यक रहेको बताए।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले पत्रकारिता जिम्मेवार पेसा भएकाले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न यसको भूमिका महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा पत्रकार महासङ्घका विभिन्न तहका पदाधिकारी तथा सञ्चारकर्मीहरूले लोकतन्त्र संस्थागत गर्न पत्रकारिताको भूमिकाबारे धारणा राखेका थिए।
यसै अवसरमा महासङ्घले विराटनगर आँखा अस्पतालको सहयोगमा आँखा शिविर पनि सञ्चालन गरेको थियो। शिविरमा करिब २०० पत्रकार र उनीहरूका परिवारका सदस्यहरूको आँखा परीक्षण गरी निःशुल्क औषधि र चस्मा वितरण गरिएको थियो।




