काठमाडौँ :- सैयद अब्बास अराघची ले संयुक्त राज्य अमेरिकासँग जारी तनाव अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ प्रस्तावबारे एशिया र युरोपका विभिन्न देशका आफ्ना समकक्षीहरूसँग जानकारी आदान–प्रदान गरेका छन्।
शुक्रबार र शनिबार भएका छुट्टाछुट्टै टेलिफोन वार्तामा उनले टर्किए, कतार, साउदी अरेबिया, इजिप्ट, इराक, अजरबैजान, रुस, दक्षिण कोरिया, जापान, फ्रान्स, इटालीलगायत देशका अधिकारीहरूसँग क्षेत्रीय अवस्थाबारे छलफल गरेका थिए। उनले वासिङ्टनसँग सम्भावित युद्धविरामबारे पनि संवाद गरेको जनाइएको छ।
इरानको विदेश मन्त्रालय का अनुसार अराघचीले अमेरिकी तथा इजरायली सैन्य गतिविधिले फारसको खाडी र होर्मुज जलडमरूमध्य क्षेत्रमा असुरक्षा बढाएको बताएका छन्। उनले इरान युद्ध सुरु नगरेको दाबी गर्दै अमेरिका कडा नीति र उक्साउने गतिविधिबाट पछि हटेमा कूटनीतिक समाधानका लागि तयार रहेको स्पष्ट पारे।
उनले इरानका सशस्त्र बलहरू कुनै पनि खतराको सामना गर्न तयार रहेको पनि बताएका छन्। साथै, केही क्षेत्रीय देशहरूले कूटनीतिक पहलमार्फत तनाव कम गर्न खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
यसैबीच, युद्धविरामपछि पनि इरान र अमेरिकी प्रतिनिधिमण्डलबीच भएका वार्ताहरू कुनै निष्कर्षमा पुग्न नसकेको र नयाँ वार्ता प्रस्ताव पाकिस्तानमार्फत अघि सारिएको जनाइएको छ।




