रसुवा :- नेपाल–चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल कैलाश पर्वत र मानसरोवरतर्फको तीर्थयात्रा यस याममा पुनः सुरु भएको छ।
अध्यागमन कार्यालय टिमुरेका अनुसार हालसम्म करिब ३ सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेका छन्। कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रुसी र बेलायती नागरिकसमेत यात्रामा सहभागी भएका छन्।
गत वर्ष मात्र यस नाका हुँदै ११ हजार ३८१ तीर्थयात्री मानसरोवर र कैलाश यात्रा गरेको तथ्याङ्क छ। यात्रु आगमन बढेसँगै भिसा शुल्कबाट राजस्व पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। चालु आर्थिक वर्षको नौ महिनामा मात्र करिब ३० लाख रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ।
धार्मिक मान्यताअनुसार मानसरोवर र कैलाश पर्वत हिन्दू, बौद्ध, जैन तथा बोन धर्मावलम्बीका लागि अत्यन्त पवित्र तीर्थस्थल मानिन्छ। हिन्दू विश्वासअनुसार यो क्षेत्र भगवान् शिव–पार्वतीको निवास र आध्यात्मिक केन्द्र हो भने बौद्ध धर्ममा ध्यान र आत्मिक ऊर्जाको केन्द्रका रूपमा लिइन्छ।
रसुवागढी–केरुङ मार्गलाई नेपालबाट मानसरोवर पुग्ने सबैभन्दा छोटो र सहज मार्ग मानिन्छ। केरुङबाट यात्रा सामान्यतः तीनदेखि चार दिनमा पूरा भए पनि सम्पूर्ण कैलाश–मानसरोवर यात्रा १० देखि १४ दिनसम्म लाग्ने गर्छ। यस यात्रासँगै सीमावर्ती क्षेत्रमा होटल, यातायात, गाइड सेवा र व्यापारिक गतिविधि बढ्दै स्थानीय अर्थतन्त्र पनि चलायमान बनेको स्थानीय प्रतिनिधिहरूले बताएका छन्।




