काठमाडौँ :- काठमाडौं उपत्यकाका नदी किनार आसपासका सुकुमवासी बस्ती हटाउने अभियानअन्तर्गत सरकारले आजदेखि डोजर चलाउने तयारी गरेको छ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर ११ (वंशीघाट), १४ (बल्खु), १५ (स्वयम्भू), १६ (बालाजु) तथा वडा नम्बर ३ र २६ अन्तर्गत सामाखुशी, खाडिपाखा र रानीबारी क्षेत्रमा आजबाट अभियान सुरु हुने जनाइएको छ।
पहिलो चरणमा थापाथली, सिनामंगल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएको छ भने दोस्रो चरणमा बागमती र सहायक नदी किनारका अन्य बस्ती खाली गराइँदैछ।
अभियानका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि नै सूचना जारी गर्दै वैशाख १८ बिहान ७ बजेदेखि बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो।
सूचनामा अटेर गरी बसोबास गरेमा हुन सक्ने क्षतिको जिम्मेवारी स्वयंले लिनुपर्ने चेतावनी दिइएको छ। साथै, नदी किनारमा अतिक्रमण गरी बसेका बस्तीलाई मानवीय रूपमा व्यवस्थापन गर्दै विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर हटाइने उल्लेख गरिएको छ।




