काठमाडौँ :- गत साता तीव्र रूपमा बढेको काठमाडौँ उपत्यकाको वायु गुणस्तर पुनः सुधारोन्मुख देखिएको छ। सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण पछिल्ला दिनमा सुरु भएको वर्षासँगै क्रमशः घट्न थालेको हो।
एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार गत मङ्गलबार करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर बिहीबार बढेर २४७ पुगेको थियो, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ। हाल भने प्रदूषण घट्दै आज एक्युआई १४१ मा झरेको छ, जसलाई ‘अस्वस्थ’ श्रेणीमा राखिन्छ।
एक्युआई मापदण्डअनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षाले वायु प्रदूषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ। उनले लामो समय वर्षा नहुँदा धुलो, धुवाँ र वन डढेलोबाट उत्पन्न प्रदूषण वायुमण्डलमा जम्मा हुने र छिमेकी मुलुकबाट आउने प्रदूषित हावाले पनि उपत्यकाको वायु गुणस्तर प्रभावित हुने बताए।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार बुधबारदेखि वर्षा हुने सम्भावना रहेकाले प्रदूषण थप घट्ने अपेक्षा गरिएको छ।




