काठमाडौँ :- सरकारले सुरु गर्न लागेको सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल प्रहरीले नदी किनार तथा सार्वजनिक स्थलमा बसोबास गरिरहेका नागरिकसँग सहयोगको अपिल गरेको छ।
प्रहरीका अनुसार सुकुम्बासीको उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न सुकुम्बासी व्यवस्थापन अभियान सञ्चालन गर्न लागिएको हो। वास्तविक सुकुम्बासी तथा भूमिहीनको पहिचान गरी न्यायोचित आवास र अधिकार प्रदान गर्ने उद्देश्यसहित अभियान अघि बढाइएको प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिएका छन्।
समस्या समाधान नहुँदा वास्तविक सुकुम्बासी राज्यका सेवासुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै प्रहरीले नक्कली सुकुम्बासीको पहिचान गरी सहयोग गर्न आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको अपिलमा वास्तविक सुकुम्बासीहरूलाई एकजुट भएर राज्यको व्यवस्थापन अभियानमा सहयोग, सहकार्य तथा सुरक्षा निकायलाई सही सूचना दिएर साथ दिन आग्रह गरिएको छ।




