काठमाडौँ :- हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हिमाली र पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित अन्य हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, बागमती र गण्डकीका हिमाली–पहाडी क्षेत्र, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भागहरूमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका केही स्थानमा पनि यस्तै वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका तराई भूभाग तथा उपत्यका र खोँच क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर (heat wave) को जोखिम समेत देखिएको छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।




