काठमाडौँ :- काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि ट्राफिक प्रहरीले सक्रिय अभियान सञ्चालन गर्दै मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा गरेको विशेष चेकजाँचका क्रममा ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्। नियन्त्रणमा लिइएका सवारीमध्ये निजी तथा सार्वजनिक दुवै प्रकारका रहेका छन्।
ट्राफिक प्रहरीका अनुसार मापदण्ड उल्लङ्घन गर्दै अत्यधिक धुवाँ फाल्ने सवारीलाई कानुनी प्रक्रिया अघि बढाउनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा राखिएको छ। आवश्यक जरिवाना र प्राविधिक सुधारपछि मात्र ती सवारी साधन छाडिनेछ।
ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार नियमित मर्मत नगर्ने, इन्जिन समस्यालाई बेवास्ता गर्ने र प्रदूषण परीक्षण नगरी सडकमा गुड्ने सवारीका कारण प्रदूषण बढिरहेको छ।
उनले सवारी चालक तथा धनीहरूलाई नियमित मर्मतसम्भार र प्रदूषण परीक्षण गर्न आग्रह गर्दै आगामी दिनमा अनुगमन अझ कडा बनाइने चेतावनी दिएका छन्। महानगरपालिकाले पनि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राखेर अभियानलाई प्रभावकारी बनाउने जनाएको छ।




