काठमाडौँ :- अभिनेत्री प्रियंका कार्कीले गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङको समर्थन गरेकी छन्। गुरुङले पदभन्दा नैतिकतालाई रोजेको भन्दै उनले उनको निर्णयलाई सकारात्मक रूपमा लिएकी हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रियंकाले कठिन परिस्थितिमा पनि विचलित नभई नैतिकताको बाटो रोज्नु प्रशंसनीय भएको बताएकी छिन्। उनले मिडिया ट्रायलका कारण दबाब सिर्जना भएको उल्लेख गर्दै सधैं राम्रो काम गर्ने व्यक्तिहरूले नै बढी परीक्षा दिनुपर्ने अवस्था रहेको टिप्पणी गरेकी छन्।
उनले गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष र गहिरो छानबिन गरी सत्य बाहिर आउनुपर्ने मागसमेत गरेकी छिन्। साथै, यो अवस्था अन्त्य नभएर नयाँ सुरुवात भएको बताउँदै गुरुङको क्षमता र भिजनको प्रशंसा गरेकी छन्।
प्रियंकाले गुरुङलाई सम्बोधन गर्दै “तपाईं यो लडाइँ जितेर अझ शक्तिशाली भएर फर्किनुहुनेछ” भन्दै नेपाललाई उनको नेतृत्व र दृष्टिकोणको आवश्यकता रहेको पनि उल्लेख गरेकी छन्।




