काठमाडौँ :- रोहित शेट्टीको घरमा भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।
उत्तर प्रदेश स्पेशल टास्क फोर्स (एसटीएफ) र मुम्बई क्राइम ब्रान्चको संयुक्त टोलीले जुहूस्थित शेट्टीको निवासमा भएको घटनामा संलग्न रहेको आरोपमा प्रदीपकुमार उर्फ ‘गन्थ’लाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई आग्राबाट नियन्त्रणमा लिइएको हो। उनी कुख्यात शुभम लोङकर गिरोहका सदस्य रहेको बताइएको छ। प्रारम्भिक सोधपुछका क्रममा उनले Facebook र Instagram मार्फत उक्त गिरोहसँग सम्पर्कमा आएको स्वीकार गरेका छन्।
प्रदीपले अन्डरवर्ल्डमा आफ्नो प्रभुत्व स्थापित गर्ने उद्देश्यले आफ्ना सहयोगीहरू सन्नी, दीपु र सोनुसँग मिलेर अपराध गरेको बताएका छन्। उक्त गोलीकाण्डमा हालसम्म नौ जना पक्राउ परिसकेका छन्।
यो घटना सन् २०२६ फेब्रुअरी १ तारिखको राति मुम्बईको जुहू क्षेत्रमा रहेको शेट्टी टावरमा भएको थियो, जहाँ अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका थिए।
प्रहरी अनुसन्धान अनुसार उक्त आक्रमण शुभम लोङकर गिरोहद्वारा गरिएको हो। आक्रमणको उद्देश्य सिनेमा क्षेत्रमा त्रास फैलाउने र आर्थिक असुली गर्ने रहेको जनाइएको छ।




